कोरोनाविरूद्धको चिनियाँ खोप नोभेम्बरमा बजारमा आउन सक्ने


एजेन्सी । चिनियाँ अधिकारीले आफूले बनाइरहेकमा कोरोनाभाइरसविरूद्धका भ्याक्सिन आउने नोभेम्बरको सुरूमै आममानिसको प्रयोगका लागि उपलब्ध हुने बताएका छन्।

चाइनिज सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा अहिले तेस्रो चरणको परीक्षण भइरहेका भ्याक्सिन नोभेम्बर वा डिसेम्बरमा आममानिसले प्रयोग गर्न पाउने बताएकी हुन्।   

चिनियाँ कम्पनीहरूले बनाइरहेका ४ वटा भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणको क्रममा रहेका छन्। तिनीहरूको परीक्षण चुस्त गतिमा भइरहेको छ।

वुले पछिल्लो समय आफूले पनि भ्याक्सिन लगाएको तर त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छन्। उनले कुन भ्याक्सिन लगाएकी हुन् भन्नेचाहिँ खुलाएकी छैनन्।  

सिनोफार्म र सिनोभ्याक वायोटेकले राज्यको आपतकालीन् प्रयोग कार्यक्रमअन्तर्गत तीन वटा भ्याक्सिन बनाइरहेका छन् भने क्यान सिनो बायोलोजिक्सले बनाएको भ्याक्सिनलाई गत जुनमा सैन्य प्रयोगका लागि स्वीकृति दिइएको थियो।

गत जुलाईमा सिनोफार्मले सन् २०२०को अन्त्यसम्ममा आफूले बनाएको भ्याक्सिन आममानिसका लागि उपलब्ध हुन सक्ने बताएको थियो।

संसारभरिका भ्याक्सिन निर्माता कम्पनीहरू अहिले कोरोनाभाइरसविरूद्धको प्रभावकारी खोप बनाउने दौडमा छन्।

उक्त दौडमा अगाडि रहेका पश्चिमा मुलुकका कम्पनीहरूले खोप बनाउन सबै वैज्ञानिक प्रक्रियाहरूलाई पालना गर्ने र राजनीतिक दबाबमा नआउने बताएका छन्।

पछिल्लो समय रूसले तेस्रो चरणको परीक्षण नै नगरी आफ्नो कम्पनीले बनाएको भ्याक्सिनलाई स्वीकृति दिएको थियो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनअघि नै खोप ल्याउन चाहन्छन्।