सहकारी क्षेत्रको २५ बर्षे रणानीति तयार गरेका छौंः मन्त्री अर्याल


२१ असोज, काठमाडौं । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ ।

वोर्डले आज (बुधबार) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो । रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताउनुभयो । ‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन् ?

अहिलेसम्म प्राप्त उपलब्धीहरु के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन’, मन्त्री अर्यालले भन्नुभयो ।
अन्तराष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ती स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताउनुभयो । संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उहाँले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गर्नुभयो ।
सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको बताउनुभयो । ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन् । सहकारी आर्थिक रुपमा सबल छ । सहकारीमा भएका पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ । व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’, मन्त्री अर्यालले भन्नुभयो ।
संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासलाई विशेषरुपमा जोड दिइएको उहाँले बताउनुभयो । सहकारी सम्बन्धी निर्माण गरिएका कानुन कार्यान्वयमा विशेष जोड दिइएको समेत मन्त्री अर्यालले बताउनुभयो । तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै उहाँले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न यी सबैबीच सहकार्यको जरुरी रहेको बताउनुभयो । ‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडी बढीरहेको छ । दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन्’, उहाँले भन्नुभयो, ‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौ । र त्यो ढंगले हामी अगाडी बढ्नुपर्नेछ ।’
मन्त्री अर्याले सहकारी क्षेत्रलाई उद्यमशीलता, व्यवसायिकतामा लगाउनका निम्ती बाधक रहेका ऐनहरुको संशोधन गरेर अगाडी बढ्ने समेत बताउनुभयो ।
सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने समेत बताउनुभयो । सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउदै मन्त्री अर्यालले समयसापेक्ष कार्यक्रम बनाउने समेत बताउनुभयो । वोर्डका अध्यक्ष समेत रहनुभएका मन्त्री अर्यालले भन्नुभयो, ‘रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामीले कार्यान्वयनमा लैजान कार्यनीति बनाउछौ । कार्यनीति समय सापेक्ष बन्छ ।’
त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने भिजनरी दस्तावेज भएको बताउनुभयो । उक्त रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने बताउनुभयो ।
यसैक्रम त्यस अवसरमा राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडी बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको बताउनुभयो । सहकारी क्षेत्रलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाउदै लैजाने भन्दै सह–अध्यक्ष पौडेलले समग्र सहकारी क्षेत्रको विकासका निम्ती रणनीति तयार गरिएको बताउनुभयो ।