कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन


काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।

अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मङ्गलबार साँझ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा नं ३ का अध्यक्ष दीपक केसी अस्पताल पुग्नुभएको थियो । त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले त्यस किसिमको व्यवस्था गरिएको बताउनुभयो ।

महानगर प्रमुख शाक्यले कामपाले संस्थागत साझेदारीबाट कोभिड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । “जटिल अवस्थामा पुगेका कोभिडका बिरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिनेछौँ”, उहाँले भन्नुभयो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले २५० शय्या कोभिडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक दुईको मृत्यु भएको छ ।