मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने


काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ ।आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।

सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यका लागि अझै केही समय फर्खिनु पर्नेछ ।यसअघि पनि गत असार २९ गते नै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका(१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक ९एडीबी० को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । त्यसपछि पुनः सुरुङ परीक्षण गरिएको हो ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । मेलम्चीको पानी आए काठमाडौं उपत्यकामा खानेपानीको उपलब्धतामा केही सहजता हुनेछ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट दैनिक आठ करोड लिटर पानीमात्रै वितरण हुँदै आएको छ ।