कोरोना खोप व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकिए, को कता ?


काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप व्यवस्थापनका लागि सरकारले सातै प्रदेशमा संयोजक तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप व्यवस्थापनका लागि प्रदेश १ को जिम्मेवारी डा. तारानाथ पोखरेललाई दिइएको छ ।

यस्तै, प्रदेश २ मा डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशमा डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा. कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको मन्त्रालयले जनाएको छ ।

बुधबारदेखि सातै प्रदेशमा खोप अभियान सुरु

भारतले नेपाललाई उपहार स्वरुप दिएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्ड यही माघ १४ गते अर्थात बुधबारदेखि लगाउन सुरु गरिने सरकारको कार्यक्रम रहेको छ ।

भारतले बिहीबार मात्रै १० लाख डोज खोप हस्तान्तरण गरेको थियो । सो खोपलाई सबै प्रदेशमा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले ७७ जिल्लाबाट एकसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ।