चालक र ग्राहकका लागि ५ लाखसम्मको बीमा गर्दै पठाओ


काठमाडौं । नेपालमा राइड सेयरिङ तथा फुड डेलिभरी सेवा उपलब्ध गराउँदै आएको पठाओले चालक तथा ग्राहकलाई बीमा सुविधा दिने भएको छ। बीमाका लागि पठाओले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ।

यो सम्झौताअनुसार कुनै पनि ग्राहक तथा चालक दुर्घटनाका प्रभावित भएमा अधिकतम ५ लाख रुपैयाँसम्म बीमा बापत पाउने छन्। कुनै पनि ग्राहक तथा चालकले दुर्घटना उपचार बापत एक लाखसम्म पाउनेछन्।

यी सबै सेवा पाउन सम्बन्धित व्यक्तिले दुर्घटनाको ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएका कागजातसहित निवेदन दिनुपर्छ। पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले गएको दुई वर्षदेखि ग्राहक तथा चालकलाई सुरक्षित महसुस गराउन सेवा-सुविधा थप गर्दै आएको र यो पछिल्लो सुविधाका लागि एभरेष्ट इन्स्योरेन्ससँग साझेदारी गरिएको बताए।