भरुवा बन्दुक पड्किँदा एकको मृत्यु


पाल्पा । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका-८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ।

रिब्दीकोट-८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा शिकार खेल्न गएका थिए। गए राति करिब ९ बजे शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारीसँगै शिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका-४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका-८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।