तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

 काठमाडौँ ।“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साझँ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।

उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेल बताउ५न् । उनका अनुसार धेरै गुनासो नेपाल टेलिकम र गृह मन्त्रालयसँग सम्बन्धीत भएर आउने गरेको छ ।

हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेकाजस्ता गुनासो आउने गरेको उनले जानकारी दिए । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको गुनासो गर्ने गरेका छन् । धेरै प्रयोगकर्ताको नाम थर नै फरक भएको र महिला वा पुरुषबीचको लिङ्गसमेत नमिलेको जस्ता गुनासो गर्ने गरेको उनले जानकारी दिए ।